निजगढ,नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
निजगढ नगरपालिका–९ स्थित रेडक्रस भवनमा सम्पन्न साधारण सभाको उद्घाटन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गमलामा जलशेचन गर्दै गरेका थिए ।
साधारण सभामा कोषाध्यक्ष सुभद्रा नेपालले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन तथा सचिव मोहन दुरुड (डिसी) ले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
उपशाखा सभापति रुद्र धितालको अध्यक्षतामा सम्पन्न सभामा नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाका उपमन्त्री कृष्णप्रसाद खरेल, जिल्ला सदस्य नारायणप्रसाद शर्मा, निजगढ नगर कार्यपालिका सदस्य मानबहादुर डाँसेली, खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको अवसरमा उपशाखा कार्यसमितिमा रही रेडक्रस अभियान, मानवीय सेवा तथा उपशाखाको विकासमा योगदान पु¥याउने २२ जना पूर्व पदाधिकारी तथा सदस्यहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। साथै उपशाखामा आवद्ध नयाँ आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
हाल निजगढ उपशाखा अन्तर्गत १ जना यशस्कर सदस्य, ८ जना विशिष्ट सदस्य तथा ४९० जना आजीवन सदस्य रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमिला नेपालले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बद्रीप्रसाद चिमरियाले गर्नुभएको थियो ।
















