पुस्तक व्यवसायीको भरोसा भण्डारीमाथि, बारामा निर्विरोध नेतृत्व चयन

                     
  नेपाल लेख   २०८२ पुष २०, आईतवार १९:३७

बारा,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, बारा शाखाको आठौँ अधिवेशनबाट निजगढ निवासी निर्मल भण्डारी निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । अधिवेशनले भण्डारीको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

निजगढ नगरपालिका–८, शहीद चोकमा अवस्थित ‘गौरीशंकर पुस्तक भण्डार’ सञ्चालन गर्दै आउनुभएका भण्डारी विगत २५ वर्षदेखि पुस्तक तथा स्टेसनरी व्यवसायमा सक्रिय रहनुभएको छ । लामो समयदेखि व्यवसायिक क्षेत्रमा निरन्तरता, इमान्दारिता र सेवाभावका साथ संलग्न भण्डारी व्यवसायी समुदायमा परिचित नामका रूपमा स्थापित हुनुहुन्छ ।

पुस्तक तथा स्टेसनरी व्यवसायसँगै भण्डारी सामाजिक सेवामा पनि अग्रसर रहँदै आउनुभएको छ । उहाँ विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै समाजप्रति जिम्मेवारी बोधका साथ कार्य गर्दै आउनुभएको व्यवसायीहरूले बताएका छन् ।

परवानीपुर कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा आईतबार सम्पन्न भएकोअधिवेशनका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष नारायणकुमार श्रेष्ठ रहनुभएको थियो । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पुस्तक तथा स्टेसनरी व्यवसायलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन महासङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । साथै उहाँले व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनमा जिल्लाभरिका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी व्यवसायीहरूले निर्विरोध निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी कार्यकालमा महासङ्घले व्यवसायीहरूको समस्या समाधान र व्यवसाय प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?