सुशासन सिकाउने नेफ्स्कुनमै लाठी शासनः सञ्चालकले कर्मचारी कुटे, देशभर सेवा ठप्प पार्ने चेतावनी

                     
  नेपाल लेख   २०८२ पुष २०, आईतवार १८:०६

काठमाडौँ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) भित्र गम्भीर शक्ति दुरुपयोग र अराजकताको घटना सार्वजनिक भएको छ। संघका सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी माथि कुटपिट तथा दुव्र्यवहार गरेको घटनापछि संघभित्र तीव्र असन्तोष चुलिएको छ ।

२०८२ पुस १५ गते शुक्रबार सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदन कुमार चन्द र पुष्पराज तिमिल्सिनामाथि संघकै सञ्चालकबाट भएको सांघातिक आक्रमणले कर्मचारीको सुरक्षा र संघको सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनापछि नेफ्स्कुनमा कार्यरत सम्पूर्ण कर्मचारी असुरक्षित महसुस गर्न बाध्य भएको कर्मचारी पक्षको आरोप छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कर्मचारीहरूले दोषी सञ्चालक वीरबहादुर रावतलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन नभएसम्म संघका सबै कार्यालयबाट प्रदान हुँदै आएका सेवा पूर्णरूपमा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

कर्मचारीहरूको मागपत्रमा संघका समिति तथा उपसमितिका पदाधिकारीहरूले कार्यकारी भूमिकामा हस्तक्षेप गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने, कार्यस्थलमा कर्मचारीको ज्यान सुरक्षा सुनिश्चित गर्नुपर्ने र संघको छविमा नकारात्मक असर पार्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख छ ।

यदि मागहरू बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिँदै कर्मचारीहरूले सेवा अवरुद्ध हुँदा उत्पन्न हुने असुविधाप्रति संघ व्यवस्थापन स्वयं जिम्मेवार हुने स्पष्ट पारेका छन् ।

देशभरका सहकारीलाई सुशासन सिकाउने दाबी गर्ने केन्द्रीय छाता संगठन नेफ्स्कुन आफैं अराजकता र कुटपिटको घटनामा मुछिनुले सहकारी क्षेत्रको विश्वसनीयतामाथि गम्भीर संकट देखिएको छ। अब प्रश्न उठेको छ— नेफ्स्कुनमा कानुन चल्छ कि सञ्चालकको लाठी ?

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?