निजगढ, बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहले रोकिएको नयाँ कार्यसमिति चयन प्रक्रियाबारे निर्णय लिन भोलि अगुवा उपभोक्ता भेला गर्ने भएको छ। अध्यक्ष रामप्रसाद उपाध्याय ओझाका अनुसार भेला सोमबार बिहान ११ः३० बजे, निजगढ–८ खयरघारीस्थित समूहको कार्यालय भवनमा बस्नेछ ।
समूहको नियमित साधारणसभा सम्पन्न भए पनि नयाँ कार्यसमिति चयन प्रक्रियामा गत वैशाख २७ गते मनोनयन दर्ता गर्ने क्रममा उपभोक्ताहरूबीच विवाद उत्पन्न भएपछि निर्वाचन रोकिएको थियो। त्यसपछि समूहको दैनन्दिन कामकाज समेत प्रभावित हुँदै आएको छ ।
डिभिजन वन कार्यालय, सिमराले गत मंसिर १५ गते पत्राचार गर्दै अगुवा उपभोक्ता भेला बोलाएर पदाधिकारी चयनका लागि निर्वाचन मण्डल गठन गर्न तथा पुरानो कार्यसमितिमार्फत नै लेखापरीक्षण गराउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार समूहले भोलिको भेला आह्वान गरेको हो । भेलाले रोकिएको कार्यसमिति चयन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा आवश्यक निर्णय लिने समूहले जनाएको छ ।
















