निजगढ, निजगढ नगरपालिकाले नगरभित्रका खानेपानी उपभोक्तालाई उपलब्ध हुँदै आएको खानेपानी न्यूनतम महसुल सहुलियत व्यवस्थामा पुनरावलोकन गर्दै आर्थिक रूपमा सबल उपभोक्ताबाट सो सुविधा फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार हाल सञ्चालनमा रहेको सहुलियत कार्यक्रमले भविष्यमा नगरपालिकाको आर्थिक दायित्व अत्यधिक बढ्ने देखिएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक रूपमा सवल उपभोक्ताले सहुलियत नलिने व्यवस्था लागू गरिएको हो।
यसका लागि आर्थिक रूपमा सक्षम उपभोक्ताले आफू सहुलियतको दायरा बाहिर पर्छु भनी आफ्नो वडा कार्यालयमार्फत स्वघोषणा गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ। स्वघोषणा अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन नगरवासीको सहयोगको अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार विपन्न तथा कमजोर वर्गका नागरिकलाई लक्षित सहुलियत भने यथावत कायम रहनेछ। आर्थिक रूपमा सबल र सक्षम उपभोक्ताले सहुलियत त्याग गर्ने प्रणाली लागू गरेपछि नगरपालिकाको आर्थिक भार घट्ने र सेवा व्यवस्थापन अझ सुदृढ हुने विश्वास गरिएको छ।
नगरपालिकाले सबै उपभोक्तालाई आफ्ना वर्गीकरणका आधारका जानकारी सहित वडा कार्यालयमा स्वघोषणा फाराम भरी सहयोग गर्न आग्रह गरेको छ।
















