रौतहट, रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको २२ बोरा रसायनिक मल सहित ४ वटा मोटरसाइकल बरामद गरेको छ । गुजरा नगरपालिका–४ मैरा हुँदै चन्द्रपुरतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले उक्त मल फेला पारेको हो ।
गुजरास्थित रंगपुर चौकीबाट प्रहरी सहायक निरीक्षक जीवनराम धितालको नेतृत्वमा खटिएको टोलीले ना.२४ प.६२३२, BR300N २७५२, BR33Y5302 र BR05N ८९८३ नम्बरका ४ वटा मोटरसाइकल समेत पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमार्फत भारतीय रसायनिक मल ल्याइँदै गरेको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त मल बरामद भएको हो । घटना देखेपछि मोटरसाइकल चालकहरु भने प्रहरीलाई देख्नेबित्तिकै फरार भएका छन् ।
बरामद गरिएको मल तथा मोटरसाइकल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















