निजगढ : जेनजी आन्दोलनको क्रममा भएको आगजनी र लुटपाटले उपकरण, फर्निचर तथा सामग्री नष्ट भएपछि सञ्चालनमा समस्या भएको निजगढ नगरपालिका वडा नम्बर ८ कार्यालयलाई स्थानीय व्यवसायी तथा युवाले सहयोग गर्न थालेका छन्।
मंगलवार निजगढ–९ का व्यवसायी उपेन्द्र बहादुर बुढाथोकी र उनका पुत्र श्रीयसले वडा कार्यालयका लागि १ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की हस्तान्तरण गरेका छन्। बुढाथोकीले वडा अध्यक्ष सुवर्ण लामालाई कार्यालयमै पुगेर उक्त सामग्री बुझाएका थिए।
यसअघि सोमवार निजगढका युवा व्यवसायी दिपेन्द्र न्यौपानेले कार्यालयका लागि ५ थान डष्टविन, प्वाल भएको डोरम्याट २ थान, सानो डोरम्याट ४ थान लगायत सामग्री सहयोग गरेका थिए।
गत भदौ २३ गते भएको आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा ३ थान एसी, १ थान ठूलो फोटोकपी मेसिन, २ थान डेक्सटप कम्प्युटर, २ थान स्क्यानर, कर्मचारीले प्रयोग गर्दै आएको ल्यापटप, ५५ इन्चको टिभी, सोफा, फर्निचरलगायत करिब २० लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको थियो। सो क्रममा केही बहुमूल्य सामग्री चोरी भएको आशंका वडा अध्यक्ष लामाले व्यक्त गरेका छन्।
वडा कार्यालय सञ्चालनमा सहजता ल्याउन विभिन्न पक्षबाट सहयोग आउने क्रम जारी रहेको वडा कार्यालयले जनाएको छ।

















