निजगढ, इलाका प्रहरी कार्यालय निजगढले किराना पसलमा चोरी गरेको आरोपमा एकजना युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, निजगढ नगरपालिका वडा नम्बर ७, एनसेल टावर नजिकको भण्डारी टोलमा स्थानीय केदारप्रसाद पोख्रेलले संचालन गरेको पोख्रेल किराना पसलबाट सामान चोरी गरिरहेको अवस्थामा २० वर्षीय सन्दिप राई, जो वडा नम्बर ६, राई टोल बस्ने सन्तोषकुमार राईका छोरा हुन्, राति करिब ११स्१५ बजे पक्राउ परेका हुन्।
चोरीमा संलग्न अर्का एकजना भने फरार रहेका छन्। पसलको छानोको टायल निकालेर पसलमा प्रवेश गरी सामान चोरी गरिरहेको अवस्थामा पसलका मालिकले छिमेकीहरूको सहयोगमा राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढको टोलीलाई बुझाएका थिए।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार, चोरीमा संलग्न युवकसँग करिब ६–७ हजार रुपैयाँ मूल्य बराबरको सामान फेला परेको छ। फरार चोरको खोजतलास कार्य भइरहेको छ।
पसल चोरी भएको स्थान इलाका प्रहरी कार्यालय निजगढबाट करिब डेढ किलोमिटर टाढा रहेको छ।

















