निजगढ :- पूर्व–पश्चिम लोकमार्गमा नियमित चेकजाँचका क्रममा निजगढ प्रहरीले बिहीबार दिउँसो ७५ लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक निरीक्षक ब्रजकिशोर सिंहको कमाण्डमा खटिएको राजमार्ग चेकिङ टोलीले निजगढ–९ स्थित राजमार्गको लच्का पूर्व, प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक चौताराबाट सो मदिरा बरामद गरेको हो ।
प्रहरीका अनुसार ४ वटा बोराभित्र राखिएका प्लास्टिकका पहेँला जर्किन र ठूलो प्याकेटमा घरेलु मदिरा लुकाइएको थियो । दिउँसो करिब १ बजे यात्रु प्रतीक्षालयमा बसमा लोड गर्न राखिएको जस्तो देखिएपछि प्रहरीले शंका गरी खानतलासी गर्दा मदिरा भेटिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले बताउनुभयो ।
बरामद गरिएको मदिरा प्रहरीले बिहीबार साँझ नै नष्ट गरेको छ। प्रहरीका अनुसार निजगढको ग्रामीण भेगमा उत्पादन हुने घरेलु मदिरा विभिन्न सवारी साधन प्रयोग गरी सिमरा, कलैया र वीरगञ्ज जस्ता शहरी क्षेत्रमा पु¥याउने गरिएको पाइएको छ।

















