बारा : बाराको अमलेखगञ्जमा आज बिहान बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेका छन् ।
प्रहरीका अनुसार बिहान स्कुटी लिएर घाँस काट्न जंगल गएका शर्मा अबेरसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्न थालेका थिए । खोजतलासका क्रममा उनको स्कुटी र काटेको घाँस भेटिए पनि शर्मा भने फेला परेका थिएनन् । परिवारले हराएको भन्दै ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी निरीक्षक जयप्रकाश साहको नेतृत्वमा गएको प्रहरी टोलीले आधाभार जंगलमा खोजतलास गर्ने क्रममा मृतकको चप्पल र रगत लतपतिएको ठाउँ फेला पारेको थियो । त्यसपछि आधाभार ब्यारेकबाट नेपाली सेना, प्रहरी तथा वडा नं. २१ र २२ का वडा अध्यक्षसहितको संयुक्त टोली पुनः खोजीमा खटिएको थियो ।
टोलीले सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जंगलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला पारेको हो । शव घोप्टो अवस्थामा भेटिएको र मृतकको टाउको नरहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले आसपास क्षेत्रमा सतर्कता बढाएका छन् ।

















