निजगढका किसान भारतीय कमसल मलमा आश्रित, एक बोरामा १४ सय तिर्न बाध्य

                     
  नेपाल लेख   २०८२ असार १७, मंगलवार २१:३३

निजगढ : सरकारी अनुदानको रसायनिक मलको चरम अभावले निजगढका किसानलाई महँगो मूल्य तिरेर कमसल भारतीय युरिया मल प्रयोग गर्न बाध्य बनाएको छ। केरा, गहुँ, मकै र अहिलेको धान रोपाइँ सिजनमा समेत अनुदानको मल नपाएका किसानले भारतबाट अवैधरूपमा भित्रिएको मलमा निर्भर हुनुपरेको हो।

स्थानीय अगुवा किसान अम्बिका चौलागाईंका अनुसार सरकारले वितरण गर्ने गुणस्तरीय युरिया मल प्रतिबोरा ८ सयदेखि ९ सय रुपैयाँसम्ममा पाइने गरेको थियो। तर अहिले त्यही मलको अभावमा किसानलाई भारतीय कम गुणस्तरको मल एक बोरा १४ सय रुपैयाँसम्म तिरेर किन्‍नु परेको छ। “कमसल नै भए पनि सजिलै पाइने भएकाले अहिले धेरै किसान त्यही मल प्रयोग गर्न बाध्य छन्,” चौलागाईंले भन्नुभयो।

निजगढ मात्र होइन, बारा जिल्लाका विभिन्न पालिकाका किसानहरू पनि यस्तै समस्यामा परेका छन्। मनहर्वाका किसान शिव यादव भन्छन्, “सरकारी मल त आत्तिनु भएको छैन, खेती त चलेकै छ भने भारतबाट ल्याएको मलकै भरमा हो।”

उनका अनुसार भारतीय सीमावर्ती बजारबाट मल ल्याउने कार्यमा अहिले जिल्लाभर दर्जनौं व्यापारी सक्रिय छन्। “मोटरसाइकल र साइकलमा मल राखेर नेपाल भित्र्याउने, गाउँगाउँ पु¥याउने र त्यही मल किसानलाई महंगोमा बेच्ने क्रम तीव्र छ,” यादवले बताए।

भारतको बजारमा प्रतिबोरा करिब एक हजार रुपैयाँ पर्ने युरिया मल नेपाल भित्र्याएर १३ सयदेखि १४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यो कारोबार खुला रूपमा नभए पनि सीमामा खटिएका नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरूलाई रकम दिएर सहज बनाइरहेको यादवको भनाइ छ।

बारा जिल्लाका कलैया, कोल्हबी, सिम्रौनगढ, कचोर्वा, पिपरपाती, कबहीगोड, मटिअर्वा र मुसहरनालगायत नाकाबाट दैनिक ठूलो मात्रामा मल भित्रिने गरेको स्थानीय स्रोतले जानकारी दिएको छ।

किसानहरू भने सरकारले समयमै गुणस्तरीय अनुदानको मल उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएका छन्। खेतबारीमा मल अभावले उत्पादन घट्ने चिन्ता बढिरहेको बेला अवैध मलप्रति निर्भरता अझ बढ्दै गएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?