पूर्वपश्चिम राजमार्गमा यात्रु चढाउने प्रतिस्पर्धाले दुर्घटना जोखिम : दुई चालकलाई जरिवाना

                     
  नेपाल लेख   २०८२ असार ६, शुक्रबार २२:०८

निजगढ — यात्रु चढाउने लोभमा लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटनाको जोखिम बढाएको अभियोगमा इलाका प्रहरी कार्यालय निजगढले दुई चालकलाई कारबाही गरेको छ । प्रहरीले दुई सवारीका चालकलाई जनही ५ र ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको दाइभाइ ट्राफल्सको यात्रुबाहक बस ९ ना.प्र.०३–००२ ख ००२७० का चालक मिनकुमार नेवार र सोही दिशातर्फ जाँदै गरेको विद्युतीय भ्यान ९ना.प्र.०३–००१ ज ०४७९० का चालक दिनेश प्रसाद दुवैलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार निजगढको शहीद चोक नजिकै यात्रु चढाउने क्रममा इभी गाडी सडकमा रोकिराखिएको अवस्थामा बसले जानाजान ठक्कर दिएको थियो । ठक्कर दिँदा इभीको अगाडिको लुकिङ ग्लास फुटेको प्रहरीको भनाइ छ ।

बसको ठक्करपछि रिसाएको इभी चालक दिनेश प्रसादले बसलाई ‘रङ्ग साइड’ बाट ओभरटेक गर्दै अगाडि गएर बसको बाटो अवरुद्ध पारेको पनि प्रहरीले जनाएको छ । दुवै सवारीको तीव्र गतिमा लापरवाहीपूर्ण सञ्चालनले राजमार्गमा दुर्घटना जोखिम सिर्जना गरेको ठहर प्रहरीले गरेको छ ।

दुवै सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालयमार्फत जरिवाना गरिएको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सुरक्षाको विषयमा लापरवाही गर्नेलाई प्रहरीले सतर्क गराउँदै कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?