सडकमा राखिएको डिभाइडरमा ठोक्किए भएको कार दुर्घटनाबाट वीरगञ्जमा आज एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै दिउँसो करिब ३ः१० बजे भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार गण्डकबाट बस पार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो । दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। अस्पताल पु¥याइएका मध्ये करिब ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले दिउँसो ३ः५० बजे मृत घोषणा गरेका थिए ।उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो। दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ रहेका छन्।उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको छ। अर्का घाइते २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको छ।घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिने पहल भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
















