
निजगढ,प्रथम निजगढ नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि विजेता गौरीशंकर मावि निजगढ ८ का खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई विद्यालयले नगद पुरस्कार सहित सम्मान गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रममा विजेता टोलीलाई विद्यालयले यसअघि घोषणा गरेको नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको हो । विद्यालयले प्रतियोगितामा विपक्षीको बिकेट झार्ने बलर र छक्का प्रहार गर्ने ब्याट् सम्यानलाई प्रतिछक्का र बिकेटको १००÷१०० रुपैयाका दरले नगद पुरस्कारको घोषणा गरेको थियो । गौरीशंकरका बलरहरुले ३ म्याचमा विपक्षी टोलीको २६ बिकेट लिनुको साथै ब्याट्सम्यानहरुले १० छक्का प्रहार गरेका थिए । जसमा ह्याट्रिकसहित सर्वाधिक ९ बिकेट लिएका बलर शिवम पाण्डेले १ हजार रुपैया पुरस्कार पाए । पाण्डेले प्रतियोगिताकै उत्कृष्ट बलरको ट्रफी पनि हात पारेका थिए । त्यसैगरी प्रतियोगितामा गौरीशंकरको तर्फबाट रञ्जेस यादव, अनिल बैठा, सत्यम पाण्डे, रुस्तम आलम र सविन दङ्गालले बिकेट लिएका थिए भने रोशन देवकोटा, रिजवान अन्सारी, ऋतिक यादव, दिलिप पटेल, सत्यम पाण्डे र रन्जेस यादवले छक्का प्रहार गरेका थिए । विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौलासहित शिक्षक र अभिभावकहरुले विजयी टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान पत्र र पुरस्कार प्रदान गरेका थिए । यसैगरी पहिलो पुरस्कारबापत निजगढ नगरपालिकाबाट विद्यालयले प्राप्त गरेको ३० हजार रुपैयामध्ये १६ हजार खेलाडीहरुलाई प्रदान गरिएको र बाँकी रकम क्रिकेट सामग्री खरिदमा विद्यालयले खर्च गर्ने विद्यालयका शिक्षक एंव टिम व्यवस्थापक बुद्धि रानामगरले जानकारी दिनुभयो । निजगढ नगरपालिका खेलकुद विकास समितिको आयोजना र निजगढ क्रिकेट क्बलको व्यवस्थापनमा भएको प्रतियोगिताको शनीवार सम्पन्न खेलमा निजगढ ६ सडकटोलस्थित गौरीशंकर माविलाई ५ बिकेटले पराजित गर्दै गौरीशंकर मावि निजगढ ८ ले उपाधि हात पारेको थियो ।