
निजगढ, बारा : निजगढ नगरपालिका खेलकुद बिकास समितिको आयोजना र निजगढ क्रीकेट क्लबको आयोजनात्मक प्रथम नगर स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा निजगढ–८ को गौरीशंकर माविले निजगढ–६ स्थित गौरीशंकर मावि सडकटोललाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको ट्रफी तथा नगद ३० हजार रुपैयाँ पुरस्कार जितेको हो । उपविजेता बनेको सडकटोलको टोलीले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने, निजगढ क्रीकेट क्लब अध्यक्ष निर्मल सापकोटा, बारा जिल्ला समन्वय उपाध्यक्ष चण्डिका उप्रेती, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, संचारकर्मी लगायत खेलप्रेमी विद्यार्थी तथा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । विजयी टोली र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी र पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढका संस्थापक नगर अध्यक्ष एवं जिल्ला सचिव रामहरि खरेलले ब्याट र क्रीकेट बल प्रदान गरेर सम्मानित गर्नुभयो। साथै, स्थानीय व्यवसायी तथा सागर पुस्तक भण्डारका सञ्चालक शंकर थोकरले खेलाडीहरूको उत्साहवर्धनका लागि क्रिकेट किट्सको ब्याग वितरण गर्नुभएको थियो ।
नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।