
बारा,बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पथलैया निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका १६ भुईपुल नजिकै टिपर र कार एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार करिब दिउँसो ३ बजेको समयमा निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ तर्फ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो ।
दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका १५ हजरियन बस्ने ४६ बर्षिय नारायण हरि शर्माको मृत्यु भएको हो । मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागी निजगढ नगरपालिका स्थित प्रसुती अस्पताल लगिएको थियो, तर चेकजाँच गर्दा दुबै जनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन् । उनको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।