वडा नम्बर १ द्धारा वडाबासीहरुलाई करेसाबारीका तरकारी बीउ वितरण

                     
  नेपाल लेख   २०८१ चैत्र २१, बिहीबार २१:५६

निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ ले स्थानीयलाई करेसाबारीमा तरकारी खेती प्रोत्साहन गर्न बुधवार विभिन्न जातका तरकारीका बीउ वितरण गरेको छ । सिंगौलका स्थानीयलाई फर्सी, लौका, काँक्रो, घिरौंला, भिन्डी, बोडी, करेला लगायतका तरकारीका बीउ वितरण गरिएको हो । वडा अध्यक्ष मंगले लोप्चनका अनुसार, सिंगौल आसपासका बजारहरूमा तरकारीको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको हुँदा स्थानीय स्तरमै उत्पादन वृद्धि गर्न बीउ वितरण कार्यक्रम अघि बढाइएको हो। स्थानीयवासीलाई आत्मनिर्भर बनाउन र करेसाबारीको सदुपयोग गर्दै ताजा तरकारीको उत्पादन वृद्धि गर्ने उद्देश्यले वार्षिक बजेटबाट रकम विनियोजन गरी यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसअघि, निजगढ नगरपालिका वडा नम्बर ३ ले पनि चालू आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सिंगौलका स्थानीयलाई तरकारीका बीउ वितरण गरेको थियो। हाल ती बीउबाट करेसाबारीमा तरकारी उम्रिसकेको स्थानीयले बताएका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाका अनुसार स्थानीयवासीले आफ्नै करेसाबारी बाँझो राखेर प्रत्येक हप्ता बजारबाट तरकारी खरिद गर्दा वार्षिक लाखौँ रुपैयाँ बाहिरिने गरेको छ। सोही कारण विगत दुई वर्षदेखि वडा कार्यालयले बजेट विनियोजन गरेर स्थानीयलाई तरकारीको बीउ वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै, वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठले तीन वटावडाले संयुक्त रूपमा सिंगौलका अधिकांश स्थानीयलाई बीउ वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तरकारी खरिद गर्दा बाहिरिने लाखौँ रुपैयाँ बचत गर्न सकेमा त्यो रकम घरायसी अन्य आवश्यकतामा खर्च गर्न सकिन्छ। त्यसैले, स्थानीयलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम प्रभावकारी हुनेछ ।’ स्थानीय तहबाट निरन्तर कृषि प्रवद्र्धनका लागि उठाइएका यस्ता कदमहरूले दीर्घकालीन रूपमा स्थानीय उत्पादनलाई बढावा दिने आशा गरिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?