अवैधरूपमा संकलन गरेर थुपारिएको ढुङ्गा जफत गर्ने निजगढ नगरपालिकाको निर्णय

                     
  नेपाल लेख   २०८१ मंसिर २३, आईतवार १९:०५

निजगढ,निजगढ नगरपालिकाले निजगढ ४ स्थित बकैया खोलाबाट अवैधरूपमा संकलन गरेर थुपारिएको ढुङ्गा जफत गर्ने निर्णय गरेको छ । निजगढ नगर कार्यपालिकाको बैठकले अवैधरूपमा थुपारिएको नदीजन्य पदार्थ ढुङ्गालाई जफत गरी यकीन परिमाण निकाली ठेक्का लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताउनुभयो । अवैधरूपमा थुपारिएको ढुङ्गा हराउन सक्ने सक्ने अवस्थालाई मध्यनजर ध्यानमा राखेर इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारालाई सुरक्षाको लागि पत्राचार गरिएको पनि उहाँले जानकारी गराउनुभएको छ । जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साहको संयोजकत्वमा मंसिर १३ गते बिहीवार बसेको बैठकले अवैधरूपमा भण्डारण गरिएको ढुङ्गा, बोल्डर जस्ता नदीजन्य पदार्थको परिमाण यकीन गरी नियम अनुसार ठेक्का लगाउन निजगढ नगरपालिकालाई गत आइतवार निर्देशानात्मक पत्राचार गरेको थियो । यही मंसिर ७ गते जिसस बारा प्रमुख साह, प्रजिअ वसन्त अधिकारी, डिभिजन वन अधिकृत राजीवकुमार झा, जिप्रका बाराका प्रउ महेन्द्र खड्का, सप्रउ सन्तोषबहादुुर सिंह, जिल्ला समन्वय अधिकारी आमेद चौधरी लगायतको टोलीले अवैधरूपमा ढुङ्गा थुपारिएको स्थान र क्रसर उद्योगको निरीक्षण गरेपछि जिल्ला अनुुगमन तथा समन्वय समितिको बैठकले थुपारिएको सो ढुङ्गा नियमानुसार जफत गर्न निर्णय गरी निजगढ नपालाई पत्राचार गरेको हो । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को बुँदा नं ७ मा उत्खनन वा सङ्कलनको परिमाण नियन्त्रणको दफा नं (५)मा गाउँपालिका वा नगरपालिकाले ठेक्का अन्तर्गत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था स्थानीय पालिकालाई दिएको छ ।

त्यसैगरी, निजगढ नगर कार्यपालिकाको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खनन, सङ्कलन र बिक्री वितरण सम्बन्धी कार्यविधि – २०७९ को बँुदा नं ८ मा उत्खनन वा सङ्कलनको परिमाण नियन्त्रणको दफा नम्बर (ग) मा नदी किनारा, वन क्षेत्र, सार्वजनिक स्थान वा निजी जग्गा लगायतका कुनै पनि ठाउँमा भण्डारण गरी राखिएको अवैध नदीजन्य पदार्थ नगरपालिकाले जफत गरी लिलाम बिक्रीको व्यवस्था गर्ने भनिए छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?