निजगढ,निजगढमा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको बुधवार एक कार्यक्रमबीच उद्धाटन गर्ने तयारी गरिएको छ । निजगढ ९ स्थित अस्पताल रोडमा निर्माण गरिएको अस्पतालले उद्धाटनसँगै नयाँ भवनबाट सेवा पनि शुरु गर्ने जनाइएको छ । अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथले दिएको जानकारी अनुसार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले कात्तिक २८ गते बिहान अस्पतालको उद्धाटन गर्ने कार्यक्रम रहेको छ । २ सय बिरामी क्षमताको अस्पतालबाट बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यक्रिया सेवा संचालन गर्ने उहाँले बताउनुभयो । अष्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनको करिब १९ करोड लगानीमा निजगढ– ९ स्थित अस्पताल रोडमा २०७८ सालबाट अस्पताल निर्माण शुरु भएको हो । ५ वर्षभित्र निर्माण हुने अनुमान गरिएको सो अस्पताल तोकिएको समयभन्दा अघि नै सम्पन्न भएको हो । उद्धाटन कार्यक्रममा विश्व प्रसिद्ध आँखा विशेषज्ञ सन्दुक रोइत, लोकप्रिय हास्यकलाकार, हरिवंश आचार्य लगायतको सहभागिता प्रोजेक्ट म्यानेजर प्याथले जानकारी दिनुभयो । तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको पहुँच बिस्तारको लागि निजगढमा अस्पताल खोलेर उपचार सेवा प्रदान गर्न लागेको हो । तिलगंगा नेत्र चिकित्सालयले हाल प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर उपचार सेवा प्रदान गर्दैआएको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविर मार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।
यसैबीच तिलगंगा सामुदायिक आँखा अस्पतालले आयोजना गरेको शिवीरमा ३९ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शनिवारबाट शुरु भएको सो शिविरको पहिलो दिन निजगढ र रौतहटको बृन्दावन नगरपालिकाका २ सय ५ जना बिरामीको आँखा परीक्षण गरिएकोमा ३९ जनामा मातियाबिन्दु फेला परेको थियो । ३ दिनसम्म चल्ने सो शिविरमा ४ जनाको आँखा परीक्षण गर्ने अस्पतालको तयारी छ ।