निजगढ,आस्थाको महापर्व छठका अवसरमा बिहीवार निजगढको बकैया नदी सझिया घाटमा श्रद्धालुहरुले हिजो अस्ताउदो सूर्यलाई अर्घय दिएका छन् । निजगढ छठ पूजा समितिले निर्माण गरेको छठ घाटमा सयौं श्रद्धालु भेला भएर अस्ताउदै गरेको सूर्यको पूजा गरेका हुन । स्थानीय भाषामा सझिया घाटे भनिने यस दिनमा, व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । पहिलो अर्घ्य सम्पन्न भएसँगै मनोकामना पूरा भएका व्रतालुहरूले बिहीवार राती परम्परागत कोसी पूजा गरेका हुन् । छठ मनाउने घर–घरमा कोसी पूजा गर्ने चलन रहेको छ । यसअघि कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चलेको छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय–खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए । छठ पर्व मनाउने विभिन्न स्थानहरूमा, विशेष गरी तराई–मधेसमा, कोसी पूजा गर्ने परिवारले रातभर जाग्राम बस्ने परम्परा छ ।
यसैबीच समितिले बकैया छठ घाटमा बिहीवार आयोजना गरेको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढ नगरपालिकाले सबै धर्मिक सम्प्रदायको संरक्षण र हितको लागि काम गरिरहेको बताउदै यस वर्षको बजेटमा व्यवस्थित छठ घाट निर्माणको लागि बजेट विनियोजन गरेको बताउनुभयो ।
निजगढ छठ पूजा समितिका अध्यक्ष हृदयनारायण रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निगगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर लामा, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल लगायतले बोल्नुभएको थियो । समितिका सदस्य सन्जय पण्डिले स्वागत मन्तव्य र रामबाबु साहले संचालन गर्नुभएको सो कार्यक्रममा समितिलाई आर्थिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।