निजगढ,धेरै वर्ष पुरानो संरचना र जंगल क्षेत्र हुदै ल्याइएको प्रशारण लाईनका कारण निजगढ क्षेत्रमा विद्युत आपूर्तिमा पटकपटक समस्या देखापर्ने गरेको छ । निजगढ क्षेत्रमा पटकपटक बिजुली आपूर्तिमा अवरोध हुँदा स्थानीय मार्कामा पर्दैआएका छन् । पछिल्लो एक साताभित्र मात्रै निजगढ क्षेत्रमा ३ दिन लामो समयसम्म विद्युत आपूर्ति बन्द भएको थियो । जंगल क्षेत्रबाट ल्याइएको प्रशारण लाइन र पुरानो संरचनाका कारण निजगढमा विद्युत आपूर्तिमा समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डलले बताउनुभयो । सिम्रौनगढ क्षेत्रमा हुने ओभर लोडिङ्गले यस क्षेत्रको प्रशारण लाइनेको तार बारम्बार चुढिइरहने र जंगल क्षेत्र भएकोले फल्ट पत्ता लगाउन समस्या भएर विद्युत सुचारु गर्न समय लाग्ने गरेको निजगढ उपवितरण केन्द्रका प्राविधिक नितेश यादवले बताउनुभयो ।
चन्द्रपुरमा रहेको १३२ केभी प्रशारण लाइनको सब स्टेशनमार्फत ३३ केभी प्रशासरण लाइनबाट १९ किमी जंगलको बाटो हुदै निजगढमा विद्युत आपुर्ति हुदै आएको छ । निजगढमा ल्याइएको २७५ एम्पियर मध्ये ठूलो परिमाणको विद्युत सिम्रौनगढ उपवितरण केन्द्रमार्फत वितरण हुने गरेको छ । निजगढमा दैनिक ६० देखि ७० एम्पियर मात्र खपत हुने र बाँकी विद्युत सिम्रौनगढबाट खपत हुने गरेको कार्यालय प्रमुख मण्डलले जानकारी दिनुभयो । सिम्रौनगढ क्षेत्रमा हुने हुकिङ्ग लगायत विद्युत चोरीले ओभर लोड परेर तार चुडिने गरेको मण्डलको भनाई छ ।