बागदेव दुग्द्य उत्पादक सहकारीमा भएको भनिएको अनियमितता छानबिन माग गर्दै राप्रपाको प्रदर्शन

                     
  नेपाल लेख   २०८१ असार २८, बिहीबार १०:४३

निजगढ, निजगढ ६ स्थित बागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका पूर्व लेखापाल गोविन्द गौतमले संस्थाको सामान खरिदमा अनियमितता भएकोभन्दै समाजिक संजाल फेकबुकमार्फत घटना सार्वजनिक गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले बुधवार संस्था परिसरमा प्रदर्शन गरेको छ । राप्रपा निजगढको अगुवाइमा सयौंको संख्यामा उपस्थित कार्यकर्ता र सर्वसाधारण किसानले घटनाको छानविन गरी दोषिमाथि कारबाहीको माग गर्दै नारा जुलससहित प्रदर्शन गरेका हुन । संस्थाका लेखापाल गौतमले पदबाट राजिनामा दिएपछि अनियमित बिलको भुक्तानी विवादमा आफूले राजिनामा दिनुपरेको सामाजिक संजालमा लेखेका थिए ।

संस्थाको सामान खरिदमा पूर्वकर्मचारीले नै भ्रष्टाचार भएको कुरा सार्वजनिक गरेपछि छानबिन र दोषिमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको राप्रपा नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले बताउनुभयो । उहाँले खरिद प्रक्रियमा भएको भनिएको अनियमितताबारे सत्यतथ्य छानबिन नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने पनि बताउनुभएको छ ।

यसैबीच बागदेव दुग्द्य उत्पादक सहकारी संस्था लिमिटेले बुधवार नै विज्ञप्ति निकालेर संस्थाको लागि खरिद गरिएको मदानीको बिलको विषयमा समिति बनाएर छानबिन भइरहेको बताएको छ । संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा मदानी खरिदको बिलमा आंशका पैदा भएपछि संस्थाको कार्य सम्पादन समितिको जेष्ठ १६ गतेको बैठकले खरिद समिति विघठन गरिएको र उक्त बिलको भुक्तानी समेत रोकिएको जनाइएको छ ।

त्यसैगरी संचालन समितिका उपाध्यक्ष टुकबहादुर तिमल्सिनाको संयोकत्वमा असार २१ गते बसेको बैठकले छानबिन समिति गठन गरी छानबिन प्रक्रिया सुरु भएको पनि विज्ञप्तिमा जानकारी गराइएको छ । सहकारी ऐन नियमको अधिनमा रही संस्थाको विनियमले निदृष्ट गरे बमोजिम संस्थाले आफ्नो क्रियाकलाप गरिरहेको र उक्त विषयमा समेत सत्यतथ्य छानबिन गरि सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गदै छानबिनको प्रक्रिया टुङ्याएर यथार्थ प्रतिवेदन सार्वजनिक नहुन्जेल धैर्यधारण गर्न सम्पूर्ण शेयरधनी एवम् सरोकारवालाहरुसंग अनुरोध गरिन्छ । विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?