तराईको भविष्य सुरक्षित पार्न चुरे विनास रोक्नुपर्छ : पूर्वमन्त्री पौडेल

                     
  नेपाल लेख   २०८१ जेष्ठ २२, मंगलवार २१:२८

पिलुवा,नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले विश्व वातावरण दिवसको पूर्वसंध्यामा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित ब्रह्माकुमारीज शान्ति बाटिकामा मंगलवार नरिवलको विरुवा रोप्नुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले संचालनमा ल्याएको शान्तिबाटिका परिषरमा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पौडेलले नरिवलको विरुवा रोपी जनसमेत सिंचित गर्नुभएको हो ।

यसअघि विश्व वातावरण दिवसको अवसरमा राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले चुरे विनासले तराईको भविष्य खतरामा रहेको बताउनुभयो । “नदीजन्य पदार्थ उत्खननको नाममा चुरेसहित खोलानालाबाट भइरहेको जथाभावी उत्खनन्ले मधेसमा पानीको अभाव जस्ता गम्भीर समस्या उत्पन्न भएको छ, पूर्वमन्त्री पौडेलले भन्नुभयो, यसको रोकथामको लागि अब वन जंगल र पर्यावरणको संरक्षण गर्नुपर्छ ।”

वन विनासले चुरे क्षेत्रमा वर्षाको पानी सोस्ने क्रम घटेको र परिणामस्वरुप मधेसमा पानीको रिचार्ज नभएर समस्या देखिएको उहाँको भनाई थियो । ‘खोलानालामा पानी सुक्ने, धाराहरुमा पानी नआउने जस्ता समस्याले अवस्था दिनप्रतिदिन भयावह बन्दै छ, उहाँले भन्नुभयो, प्रकृति र संस्कृति नेपालका गहना हुन् । यसको संरक्षणमा सबै जिम्मेवार बन्नु पर्ने हुन्छ ।’

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, जिल्ला कमिटी बाराका अध्यक्ष अध्यानन्द पाण्डे, सचिव अमृत शर्मा बजगाँई, एमाले जिल्ला कमिटी सदस्य पुरुषोत्तम साह, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य अच्युत पौडेललगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?