
निजगढ, तौल कम राखेर गाईभैसीलाई खुवाउने ढुटो बिक्री गरेको आरोपमा ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गणेश खाद्यान्न भण्डारबाट ५३ बोरा ढुटो नियन्त्रणमा लिएको छ । खाद्यन्न भण्डारले निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका पशुपालक किसानलाई बिक्री गर्न भनेर लगेको ३० के.जी क्षमताको बोरामा ३ केजीसम्म कम पाइएपछि प्रहरीले बिक्री गर्ने तयारी अवस्थामा राखिएको सो ढुटो आईतबार नियन्त्रणमा लिएको हो । प्रहरीले खाद्यन्न भण्डारका एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।
कहाँबाट ल्याइयो सहकारीमा २७ के.जी.ढुटोको बोरा ?
वीरगञ्जस्थित संन्तोष एण्ड सितल खाद्य उद्योगबाट उत्पादित सो ढुटोको बोरामा तोकिएकोभन्दा कम तौल पाइएपछि नियन्त्रणमा लिएको हो । उद्योगको मुख्य वितरकको रुपमा रहेको सिमरास्थित आरके सप्लायर्सबाट खरिद गरेर गणेश खाद्यन्न भण्डारले सो ढुटो स्थानीय किसानलाई बिक्री गरेको थियो । दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना किसानहरुको लागि बिक्रेता मार्फत पशुआहार उपलब्ध गराउने र दुध बिक्रीको पैसाबाट सोको रकम कट्टा गर्ने गर्दै आएको छ ।
वागदेव दुग्द्य उत्पादक सहकारीको विज्ञप्ती :-
घटनाको बारेमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले आइतवार एक विज्ञप्ति निकालेर गणेश खाद्य भण्डारले गत माघ ५ गते बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिगौँल सेवा केन्द्रका किसानलाई बिक्री गर्न भनेर १ सय बोरा ढुटो ढुवानी गरेकोमा संस्थाका कर्मचारीद्धारा नाप जाँच गर्ने क्रममा प्रतिबोरा ३ केजीसम्म कम पाइएको र सोको कारबाहीको लागि कानुनी प्रक्रिया शुरु भएको बताउनुभएको छ । घटनापछि कानुनी कारबाही अघि बढाइएको बताउदै सहकारीका अध्यक्ष सापकोटाले सिंगौल सेवा केन्द्रमा लागिएको १ सय बोरा मध्ये ८७ बोरा ढुटो कृषकले खरिद गरिसकेकोले प्रत्येक बारोमा ३ केजी घटाएर २७ केजी कायम गरी कृषकको हिसाब राखिने पनि जानकारी दिनुभयो । साथै सहकारीले आगामी दिनमा उक्त खाद्य भण्डारबाट कुनै पनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराएको छ । खाद्य भण्डारका संचालक रामप्रसाद हुमागाई सहकारी संस्थाको लेखा समितिको सदस्य पनि हुनुहुन्छ । संस्थाको मान मर्यादामा आँच पुग्ने कार्य गरेको प्रमाणित भएको खण्डमा हुमागाई माथि संस्थाले थप कारबाही पनि गर्ने उहाँले बताउनुभएको छ । खाद्य भण्डारका संचालकले भने डिलरबाट आउँदाको अवस्थामा नै ढुटो कम आएको बताएका छन् ।