
बारा, समुदायमा आधारित सहकारी संस्थाहरुको लागी तीन बर्षे ब्यवसायिक योजना निर्माण तालिम बारा जिल्लाको निजगढमा सुरु भएको छ ।
साना किसान विकास लघुवित्त संस्था लि.हेटौडा, मकवानपुरको आयोजनामा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समुद्धि) को सहयोगमा निजगढस्थित होटेल राजमार्गमा चार दिने तालिम सुरु भएको हो ।
तालिममा बारा, रौटहट, सर्लाही र महोत्तरी जिल्लाका १३ वटा सहकारी संस्थाको प्रतिनिधि सहभागी छन् ।
तालिमको महोत्तरी जिल्ला कृषि संघ र महिला केन्द्र बहुउद्देयीय सहकारी संस्था लि.का अध्यक्ष शारदा दाहाल, निजगढ सहकारी संजालका संयोजक तथा सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेटका अध्यक्ष भोला प्रसाद गौतम र बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बारा, कलैयाको लेखा समिति सदस्य कोपिला सिम्खडाले संयुक्त रुपमा उद्धाटन गरेका छन् ।
तालिममा मुख्य सहजकर्ताको रुपमा लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डे र फिल्ड प्रशिक्षक सुदिप जि.सि.रहेका छन् ।
तालिमको उद्घाटन सत्रमा सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोला प्रसाद गौतमले सहकारी संस्था सबैले जिम्मेवार भएर पवित्र भावनाले आ–आफ्नो तर्फबाट सदस्यहरुलाई सेवा प्रदान गर्नुपर्ने बताए । उनले संस्थालाई दिगो बनाउन र लक्ष्य प्राप्ती गर्न र अहिलेको प्रतिकुल परिस्थितबाट सहकारी संस्थाहरुलाई बचाउन स्पष्ट ब्यवसायिक योजना एकदमै जरुरी रहेको बताए । यो तालिमलाई दुरगामी तथा प्रभावकारी ब्यवसायिक योजना निर्माण गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य कोपिला सिम्खडाले तालिम प्राप्त गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिदै तालिमबाट निर्माण हुने ब्यवसायिक योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिईन् । उनले संस्थामा सदस्यहरुको माया, ममता र अपनत्वलाई बढावा दिदै पृथक ढंगले सेवा विस्तार गर्नुपर्ने बताईन् ।
उद्घाटन सत्रको समापनको घोषणा गदै महोत्तरी जिल्ला कृषि संघका अध्यक्ष शारदा दाहालले सहकारी संस्थाहरु समुहमा आधारित भएर संचालन भयो भने मात्र संस्था बलियो हुने र बलियो ब्यवसायिक योजनाले संस्थालाई नै बलियो बनाउने कुरा स्पष्ट पारे ।
उद्घाटन सत्रको संचालन साना किसान लघुवित्त वित्तिय संस्था लि.समृद्धि आयोजनाका लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेले गरेका थिए ।