
रौतहट ,कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरको लागि पठाएको रासायनिक मल गायब भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गुजरा नगरपालिका वडा नं–२ को मैरा कटानीको जंगलबाट बरामद गरेको छ।
१ सय २ बोरा मलसहित चन्द्रनिगाहपुर प्रहरीले एउटा ट्रक‚ दुईवटा ट्याक्टर र ५ जना मानिसलाई पक्राउ गरेको हो।
कृषि सामग्री कम्पनी लिमिटेड वीरगञ्जबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउनका लागि ना ६ ख ९१९२ नम्बरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरि पठाईएकोमा सम्बन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलास गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।
गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्टमार्फत ढुवानी भएको सो ट्रकका चालक वर्ष २८ का हरिकान्त पासवानलाई सम्पर्क गर्दा गुजरा नगरपालिका वडा नं–२ मैरा कटानी जंंगल नजिकैबाट प्रहरीले बरामद गरेको डिएसपी कोइरालाले बताए।
लामो समयसम्म पनि मल नपुगेको र चालक पनि सम्पर्कविहीन भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजी गरेको उनको भनाइ छ।
गत साउन २६ गते कार्यालयमा प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा एउटा ट्रक र दुईवटा ट्याक्टरसहित ५ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए।
चन्द्रपुर नगरपालिका वडा नं। ४ बाट ना।६ ख ९१९२ नम्बरको ट्रक, चन्द्रपुर नगरपालिका वडा नं। ९ डुमरियाबाट नम्बर प्लेट अनटेष्ट रहेको ट्याक्टर, सोही वडाबाट ना। ३ त २१८० नम्बरको ट्याक्टर बरामद भएको डिएसपी कोइरालाले जानकारी दिएका छन्।