निजगढ, हुरीले ढालेर केराबालीमा नोक्सानी भएपछि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मैनालीले आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै क्षतिपूर्तिको माग गर्नुभएको हो । गत वर्ष पनि निजगढका किसानको केरा हुरीले नष्ट गरेको र हिमालय इन्सुरेन्सले किसानलाई बिमा रकम उपलब्ध नगराउँदा किसानहरु मार्का बेहोर्नु परेको मैनालीको भनाइ रहेको छ । कृषि मन्त्रालयको संवेदनहिनता र लापरबाहीका कारण निजगढका किसानले हरेक वर्ष नोक्सानी बेहोर्दै आउनुपरेको मैनालीको भनाइ छ ।
त्यसैगरी सांसद मैनालीले तामागढी सिम्रौनगढ सडक खण्डको जग्गाको मुआब्जा यसै वर्ष उपलब्ध गराउनुपर्ने माग गर्दै ऐतिहासिक एवम् पूरातात्विक स्थल सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रियाको थालनी गर्न आग्रह पनि गर्नुभएको छ । एक साताअघि आएको हावा हुरीले केराको बोट ढलेपछि निजगढका किसानहरुको करोडौं मूल्य बराबरको क्षति भएको छ । गत मंगलवार साँझ आएको हुरीले पाक्न लागेको केराको बोट ढालेर नष्ट गरेपछि किसानहरुलाई क्षति पुगेको हो । निजगढका किसानले रोपेकोे केरा मध्ये करिव ७० प्रतिशत केरा हुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताए । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताउनुभयो । सरकारले यो वर्ष केराबाली हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको अर्का किसान मान बहादुर श्रेष्ठ बताउनुहुन्छ । केराको बिमा गर्ने पोलिसी नभएकोले बताउदै कम्पनीले बिमा नगरेको हो । निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छ्न । अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन । तर हावाहुरीका कारण स्थानीय किसानले मार्का बेहोर्नुपर्ने अवस्था रहेको छ ।