निजगढ, सर्पको टोकाइबाट निजगढ ९ तेर्सो लाईनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ७३ वर्षिय विष्णु पौडेल रहेका छन् । पौडेललाई शनिवार साँझ ५ बजे विषालु सर्पले टोकेको थियो । घर पछाडिको बारीमा गएको बेला पौडेललाई सर्पले टोकेको हो । सर्पले टोेके लगत्तै उपचारको लागि आफन्त र छिमेकीले निजगढ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले पौडेलको मृत्यु भएको घोषणा गरेका थिए । सर्पको टोकेको केहीबेरमा नै अस्पताल पुर्याइएको भएपनि पौडेलको मृत्यु भएको छिमेकी गोविन्द खरेलले बताउनुभयो । सर्पले टोकेको १०/१५ मिनेटभित्रै उपचारको क्रममा पौडेलको मृत्यु भएको खरेलले जानकारी दिनुभयो । सर्पले टोकेको मानिसको यति छोटो समयमा नै मृत्यु यो घटना आफूले पहिलो पटक जानकारी पाएको खरेलको भनाइ रहेको छ । मृतक पौडेल लामो समयदेखि दम रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।