निजगढका उत्तरी भेग रतनपुर क्षेत्रका किसानहरुलाई अहिले धानबाली भित्र्याउने भ्याइनभ्याइ,

                     
  नेपाल लेख   २०७९ कार्तिक १५, मंगलवार १९:५५

(निजगढ) तराईको जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ११, १२, र १३ का किसानहरुलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ । किसानलाई धान, भटमास, लगायतका खाद्यान्न भित्र्याउने चटारो रहेको छ । पाकेको धान काट्ने, सुकाउने, उठाउने, कुन्यु लगाउने टिपाटिपमा किसानहरु लागेको हो । असोज महिनादेखि मंसिरसम्मको समय किसानका लागि अत्यन्त व्यस्त समय हो । अहिले बारा जिल्लाको माथिल्लो भेगका किसानहरु खासगरी धानबाली थन्क्याउने कामका लागि दिनभर खेतबारीमा भेटिन्छन् । चाडपर्व मनाएलगत्तै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र ट्यक्टरमा ठेसर लगाउने जस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् । धानबाली भित्र्याएपछि खेत तथा पाखो बारीमा हिउँदे बालीहरु गहुँ, तोरी, लगायत छर्ने गरिन्छ । माथिल्लो भेग डम्बरपुर, भक्तलाल, कोलगाउँ लगायतका वस्तीहरुमा पनि धानबाली भित्र्याएर कोदो काट्ने, बोडीलगायत गेडागुडी टिप्ने र परम्परागत बाली गहुँ, तोरी, हिउदे मकै छर्ने चलन छ । यसपटक मौसम अनुकूल भएसँगै खाद्यान्न बाली भित्र्याउन सहज भएको हुँदा किसानहरु उत्साहित छन् । युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा शहर, बजार तथा देशविदेश पसेका कारण गाउँमा काम गर्ने श्रमिकको अभाव हुने गरेको छ । गाउँघरमा बाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेलामा अर्मपर्मको साथै पालो लगाउने प्रचलन रहिआएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाइँ हाल्ने, खेतबारी जोत्ने र मलमुत्र बनाउन बस्तुभाउको अभाव झेल्न किसानहरु बाध्य छन् । यसैबीच, यसवर्ष भने विगतको तुलनामा धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । धान रोप्ने समयमा पर्यात मनसुनी वर्षा नहुनु, किसानले समयमै मलबिऊ नपाउनु, सिँचाइको अभाव, समयमा रोपाइँ नहुनु, पाक्ने बेला अत्यधिक पानी पर्नु र हावाहुरीले धान ढलाउनु जस्ता कारणले उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख वितेन्द्र यादवले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?