निजगढ । बालिका बलात्कारको आरोप लागेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठलाई पक्राउ गरी कारबाही हुनुपर्ने माग गर्दै सोमबार स्थानीय महिलाहरुले निजगढमा प्रदर्शन र चक्काजाम गरेका छन् ।
बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको भन्दै स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरू गरेका हुन । उनीहरुले वडा अध्यक्षलाई तत्काल पक्राउ गरेर कारबाही गरिनुपर्ने भन्दै निजगढस्थित पूर्वपश्चिम लोकमार्गको शहिद चोकमा पौने घण्टा चक्का जाम गरेका थिए । चक्काजाममा सहभागीहरुले बलात्कारीलाई संरक्षण गर्न पाइदैन भन्दै स्थानीय प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शन कार्यक्रममा महिला अभियन्ता सावित्री सुवेदी (जयनारी) लगायत स्थानीय महिला र सर्वसाधारणको सहभागिता रहेको थियो । वडा अध्यक्ष श्रेष्ठले १५ वर्षकी छिमेकी किशोरीलाई गत १९ असोजमा दशैंको टिकाको दिने आफ्नै घरमा जबर्जस्ती करणी गरेको भन्दै किशोरीले इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी दिएकी छिन । आरोपी श्रेष्ठलाई राजनितिक सरक्षणमा लुकाएर राखिएको पनि स्थानीयको भनाइ छ ।
प्रहरीले श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघि बढाएको र हाल फरार रहेकाले पक्राउ गर्न नसकिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभएको छ । अध्यक्ष श्रेष्ठ घरबाहिर फरार भएको पनि प्रहरीले बताएको छ । आफूविरुद्ध जबर्जस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन । अध्यक्ष फरार बनेपछि वडा कार्यालयको कमसमेत प्रभावित हुदै आएको छ ।