सर्लाही गोली काण्ड : तीन भारतीय सहित चारजना पक्राउ

                     
  नेपाल लेख   २०७९ कार्तिक ६, आईतवार १०:४५

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा आज दिउँसो पत्रकार सम्मेलन गरी कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक हुन् ।

उनीहरू भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभकुमार यादव, विहार मोतीहारी जिल्ला हजारा ग्रामपञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र अर्का सर्लाहीको धनकौल–१ का ३२ वर्षीय धीरेन्द्र सहनी पक्राउ परेको जिप्रका सर्लाहीले जनाएको छ ।

बुधबार बिहान घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटिएको टोलीले बलरा नपा–७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारैजनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोली घरमा पुग्दा अभियुक्तहरू भाग्न खोजेका थिए । सोही क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो ।

प्रहरीको गोली चलाउँदा धनकौलका सहनीको खुट्टामा गोली लागेको छ। सहनीको अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भयरहेको छ। उनीहरूबाट हातहतियार भने बरामद नभएको प्रहरीले जनायो ।

बुधवार बिहान ११ बजेतिर मिलनचोक स्थित सहकारीमा लुटपाट गर्न आएका लुटेरासँग सहकारी प्रमुख कार्कीले प्रतिकार गर्दा लुटेराले चार राउण्ड गोली हानेका थिए ।

कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ। घाइते कार्कीको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते कार्कीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?