निजगढ–बाराको निजगढ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ सम्पर्क विहीन भएका छन् । उनी माथि गाउँकै एक किशोरीले यौन दुर्ववहारको आरोप लगाएकी छिन् ।
दशैंको टिकाको दिन आफुमाथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलवार साँझ वडाध्यक्ष विरुद्ध निजगढ स्थित ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेपछि प्रहरी बुधबार वडा अध्यक्ष श्रेष्ठको घरमा पुगेको थियो ।
पीडित अभिभावकका अनुसार किशोरी र छिमेकी वडाध्यक्षको भान्जी सानो देखिका साथी रहेकोले दसैंको टिकाको दिन वडाध्यक्षको भान्जीले नयाँ मोबाईलमा टिकटक आईडी बनाईदिनका लागि बोलाएका कारण किशोरी साँझ उनको घरमा गएकी थिईन् । घर छेउमै रहेको वडाध्यक्षको घरमा किशोरी पुग्दा उनको साथी भने थिइनन् । साथीलाई उनको कोठामा नभेटेपछि किशोरीले बोलाउन थालेको र सोही समयमा वडाध्यक्षले पछाडीबाट समाउदै आफ्नो कोठामा लगेको जाहेरीमा उल्लेख रहेको छ ।
उक्त जाहेरीको आधारमा बुधवार ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजिव ओलीको नेतृत्वमा पुगेको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पुगेका थिए । श्रेष्ठ भने फेला नपरेपछि टोली फर्केको छ । स्थानीयका अनुसार श्रेष्ठले मंगलबारदेखि नै घर छाडेका छन् ।