बारा । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले पार्टीको निणर्य मान्न आम नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन् ।
पौडेल मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवारका आकांक्षी थिए । तर पार्टीले उनको स्थानमा अर्का आकांक्षी अचुत मैनालीलाई टिकट दिएसँगै नेता कार्यकर्तामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको कतिपय निर्णयमा आफ्नो असहमति हुनु नौलो नभएको भएता पनि केन्द्रबाट आएको निर्णयलाई मान्ने बाहेक अर्का विकल्प नभएको बताएका छन् । उनले लेखेका छन् ‘पार्टीको कतिपय निर्णयमा मेरो असहमति हुनु नौलो होइन । फेरिपनि केन्द्रबाट आएको निर्णयलाई मान्ने बाहेक हामी सँग अर्को कुनै विकल्प पनि छैन ।
टिकट नपाएको विषयसँग जोडेर आफूलाई बदनाम गर्न र आम जनतामा भ्रम सिर्जना गर्न केही समुह लागि परेको उनले बताएका छन् । उनीहरु निर्वाचनका बेला गलत हर्कत गर्न र अफवाह फैलाएर आफ्नो उल्लू सिधा गर्न तल्लीन रहेको समेत उनले आरोप लगाएका छन् ।
यस्तो कार्यले धमिलो पानीमा माछा मार्न खोज्नेहरुलाई मात्र बलियो बनाउने तर्क उनले गरेका छन् । अहिले एक अर्काको खुट्टा तान्ने र हिलो छ्यापाछ्याप गर्नु भन्दा सबैले जनतामा गएर आफ्नो पार्टीका एजेन्डा पस्कने र जनमत बनाउने काममा लाग्नुनै श्रेयस्कर हुने उनको भनाई छ ।