बारा : निजगढ नगरपालिका अन्तर्गत सञ्चालन भएको आधारभूत तह (कक्षा ५) को ५० औँ वार्षिक परीक्षामा निजगढ–९ स्थित श्री जनज्योति आधारभूत विद्यालय उत्कृष्ट बनेको छ । नगरभित्रका ३२ वटा विद्यालयलाई पछि पार्दै विद्यालयले शतप्रतिशत नतिजासहित प्रथम स्थान हासिल गरेको हो ।
परीक्षामा सहभागी १३ जना विद्यार्थीमध्ये ५ जनाले ‘ए प्लस’, ५ जनाले ‘ए’, २ जनाले ‘बी प्लस’ र १ जनाले ‘बी’ ग्रेड ल्याएका छन् । सबै विद्यार्थी उत्तीर्ण भई उत्कृष्ट जीपीए हासिल गर्न सफल भएका छन् ।
विद्यालयका प्रधानाध्यापक मनराज महतराले यस उपलब्धिलाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरेका छन् । उनका अनुसार यो सफलता शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरूको साथ–सहयोगको संयुक्त परिणाम हो । “हरेक सफलताको पछाडि रहेको पसिना, त्याग र आशा आज उपलब्धिमा परिणत भएको छ,” उनले बताए ।
प्रधानाध्यापक महतराले विद्यालयको आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया दिँदै सानो प्रयासबाट सुरु भएको यात्रा आज नगरकै उत्कृष्ट बन्न पुगेको स्मरण गरेका छन् । उनले यस उपलब्धिलाई विद्यालय परिवारको एकता, सहकार्य र प्रतिबद्धताको उदाहरणका रूपमा उल्लेख गरेका छन् ।
यस सफलताले विद्यालयलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने अठोट व्यक्त गरे । साथै,उपलब्धिमा योगदान पु¥याउने सम्पूर्ण विद्यार्थी,शिक्षक, अभिभावक तथा शुभेच्छुकहरू प्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।
















