
बारा, बारा जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा १३७ जनाले हिजो उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि ३८ जनाको र प्रदेशसभाका लागि ९९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । क्षेत्र नम्बर १ मा भने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि स्वतन्त्र सहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १८ जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४६ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ । प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ६ जना स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १४ छ । प्रतिनिधि सभा सदस्यको लागि एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले उम्मेदवारी दर्ता गराउनुभएको छ । कोल्हबी स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मैनाली सहित एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन । प्रदेश सभा क तर्फ एमालेका त्रिलोकी चौधरी, ख मा जसपाको तर्फबाट मधेस प्रदेश सभाका पूर्व सभामुख सरोज यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो अवसरमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । मनोनय पत्र दर्ता पछि एमाले उम्मेदवार अच्युत मैनालीले निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताउनुभयो ।
उहाँले गठबन्धन दलले इमान्दारिताका साथ मतदान गर्ने र जिल्लाका सबै क्षेत्रमा एमाले र जसपाका उम्मेदवारहरु विजयी हुने दाबी पनि गर्नुभएको छ ।
टिकट वितरणमा भेदभाव गरिएको भन्दै क्षेत्र नम्बर १ को प्रदेश सभा क मा कांग्रेश र एमालेका केही कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । पार्टीले आफ्नो मूल्याङ्कन नगरेकोले स्वतन्त्र उम्मेदवार बन्नुपरेको कांग्रेशका बागी उम्मेदवार जयमंगल चौधरीले बताउनुभयो ।
त्यसैगरी एमाले मधेस प्रदेश सभा सदस्य एक बहादुर श्रेष्ठले पार्टीले कार्यकर्ताको भावना विपरित टिकट वितरण गरेकोले आफू स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांगेशका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोही क्षेत्रको प्रदेश क मा गठबन्धनको तर्फबाट रमेश दङ्गालको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ को ख मा भने सत्ता गठबन्धनबाट २ जनाको उम्मेदवारी परेको छ । नेकपा एकिकृत समाजवादीका बतहु यादव र नेपाली कांग्रेशका नागेन्द्र साह कानुले प्रदेश सभा ख सदस्यको लागि उम्मेदवारी परेको हो । यादव र साहले आफू गठबन्धनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन ।
त्यसैगरी प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तबहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ भने हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । यस्तै मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराउनुभएको छ । यता नेपाल लोक्तान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, राप्रपा नेपालबाट शिवप्रसाद तिमल्सिना, नेपाली जनता पार्टीबाट प्रदिपकुमार प्रसाद साह कलवार, नागरिक उन्मुक्ति पार्टीबाट भुवनप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोजकुमार थारुले उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधिसभा सदस्यमा अनिलकुमार गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्रकुमार साह, शिवप्रसाद रिजाल, अनवर अंसारी र चनकराज भट्टराईको स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यस्तै प्रदेश सभा क बाट हाम्रो नेपाली पार्टीबाट भेसबहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर पनुहर, नागरिक उन्मुक्ति पार्टीबाट राधाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, मंगोल नेसनल अर्गनाइजेशनबाट मदनबहादुर बम्जन र जनमत पार्टीबाट युवराज मैनालीले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा ’क’ मा शिवनारायण थारु, देवराज घिमिरे र सन्नी लामाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । प्रदेश सभा ख मा राप्रपा नेपालबाट जोखु साह कानु, नागरिक उन्मुक्ति पार्टीबाट उमेशप्रसाद कलवार र जनमत पार्टीबाट सिताराम प्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा ’ख’ मा स्वतन्त्रबाट राकेशकुमार कुशवाहा, अशोककुमार यादब, अरुण कुशवाहा, कमरुल्लाह अंसारी, जयन्तकुमार कुशवाहा, राजकुमारप्रसाद साह, संजय प्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तत्माको पनि उम्मेदवारी परेको छ ।