बिपिन अधिकारी
प्रेसशिलशिला खबर
२०७९ साउन १३ (निजगढ)
निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका उपसचिव हरिलाल पुरीले आज शुक्रवार कार्यालयमा हाजिरी हुनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत पुरीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए । कार्यालयका आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै अधिकृत पुरीले सुशासन कायम गर्दै निजगढ नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताउनुभयो । उहाँले निजगढ नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताउनुभयो । आफूले यसअघि काम गरेका सबै पालिकामा स्मरण योग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा निजगढलाई पनि १ नम्बरको पालिका बनाउने उहाँको भनाइ थियो । अधिकृत पुरीले कार्यालयका सबै शाखाको निरीक्षण पनि गर्नुभएको छ । मकवानपुरको पालुङ्ग नगरपालिकाबाट सरुवा भइ आउनुभएका उपसचिव पुरीसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजगढसहित देशभरका ३४ जना उपसचिवको सरुवा गर्ने क्रममा पुरीको निजगढमा सरुवा भएको हो । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको भने बाराको पचरौता नगरपालिकामा सरुवा भएको छ ।