जेष्ठ ७ (निजगढ)
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ नगर समितिले तीन जना महासमिति सदस्य सहित ७ जना नेता,कार्यकर्तामाथि कारबाहीको लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेस निजगढ नगर समितिका अध्यक्ष नवराज तिमल्सिनाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै महासमिति सदस्यहरु शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुवँर, बारा जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बार क्षेत्र नम्बर १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला समितिका पूर्वसदस्य रामचन्द्र जैसवाल माथि कारबाहीको लागि अनुशासन समितिमा सिफारिस गरेको हो ।
नगर सभापती तिमल्सिनाले पार्टीको तर्फबाट निजगढ नगरपािलकाको मेयर उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको प्रमाण फेला परेपछि कारबाहीको लागि सिफारिस गरिएको बताउनुभयो । निर्वाचनमा नेकपा माओवादीसंगको गठबन्धनमा नेपाली कांग्रेशबाट नगरप्रमुखमा उम्मेदवार बन्नुभएका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसंग पराजित हुनुभएको थियो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका खनाल मेयरमा पराजित भएपनि निजगढका १३ मध्ये ८ वडाको अध्यक्षमा नेपाली कांग्रेशका उम्मेदवारहरु विजयी बनेका छन ।