बैशाख ०२ (बारा)
जंगली जनावर मार्न थापिएको बन्दुकीय धरापमा परि बाराको डकाहामा एकजनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १६ डकाह निवासी ईन्द्रबहादुर सिंजाली मगरका छोरा २८ वर्षका सागर सिंजाली मगरको धरापमा परी ज्यान गएको हो ।
बुधवार राती सोही वडामा पर्ने बालगँगा खोलामा माछा मारेर फर्कने क्रममा सिंजाली पसाहा खोला किनारको सिरु घारीमा सिकारीले थापेको धरापमा परेका थिए । बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका सिंजालीको उपचारका क्रममा बिहीबार विहान ३ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
गाउँबाट अन्य साथीहरुसहित माछा मार्न गएका सिंजाली सिकारीले जंगली जनवार मार्न थापेको भरुवा बन्दुकको धरापमा परेका थिए । बन्दुक पड्किएर सिंजालीलाई लागेपछि गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइको थियो । बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । घटना स्थानबाट प्रहरीले १ थान भरुवा बन्दुक बरामद प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।