चैत्र ३० (निजगढ)
निजगढ नगरपालिका स्वास्थ्य शाखाले टाइफाइड खोप अभियानबारे जानकारी दिने उद्देश्यले बुधवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रमेश लामाले निजगढ नगरपालिकाभित्र आगामी बैशाख ४ गतेदेखि संचालन गर्न लागिएको टाइफाइड खोप अभियान बारे जानकारी दिनुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख लामाका अनुसार अभियान अन्तर्गत नगरभित्र ११ हजार १९ जना बालबालिकालाई खोप लगाउने उद्देश्य राखिएको जानकारी दिनुभयो । सरकारले चैत्र र बैशाख महिनाभित्र देशका सबै पालिकामा खोप अभियान संचालन गर्ने योजना बनाएको भएपनि निजगढमा भने दोस्रो चरण अन्तरगत बैशाख ४ देखि ९ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो । कार्यक्रममा गंम्भीर प्रकृतिको एलर्जी देखा परेको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएका र एडसको लक्षण देखा परेका व्यक्तिहरुलाई खोप लगाउन नहुने पनि जानकारी गराइएको थियो । त्यसैगरी हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइपफाइट विरुद्धको खोप दिने तयारी गरिएको छ । शाखा प्रमुख लामाका अनुसार निजगढ, सिगौंल र रतनपुरीमा गरी ४५ खोप केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी तथा नगरपालिकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।