एसिड आक्रमणबाट घाइते कलैया उपमहानगरपालिकाकी कविता पटेलको आर्थिक अभावले उपचारमा समस्या

                     
  नेपाल लेख   २०७८ चैत्र २५, शुक्रबार १५:०७

चैत्र २५ (कलैया)
एसिड आक्रमणबाट घाइते बाराको कलैया उपमहानगरपालिका बस्दै आएकी २८ वर्षीया सीता भनिने कविता पटेलको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । गत ११ चैतमा उहाँका ससुरा हवारी साह र र जेठाजु रामबाबु साह सहित नचिनेका अरु २ जना मानिसले कलैया उपमहानगरपालिका– २३ कोरिया टोल नजिकै एसिडले आक्रमण गरेको उहाँको आरोप छ । पर्साको बहुदरमाई नगरपालिका– २ बैरियाविर्ता घर भएकी कविता घटनाको दिन वीरगन्जमा वकिललाई भेटेर स्कुटरमा कलैयास्थित डेरामा फर्किदै हुनुहुन्थ्यो । पिछा गर्दै आएका उनीहरुले कलैयाको कोरिया टोल नजिक आइपुगेपछि घेरा हालेर कवितामाथि एसिडले आक्रमण गरेको र गरगहना तथा नगद लुटेर लगेको उहाँको आरोप छ । प्रहरीले कविताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । ‘उनीहरु विरुद्ध एसिड आक्रमणको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं’ उहाँले भन्नुभयो । उनीहरुले प्रहरीसमक्ष आफूहरुले एसिड आक्रमणमा संलग्नता नरहेको बयान दिएका छन् । ०७८ साउन २४ गते कविताले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर– ६ बस्ने २४ वर्षीय उमेश साह गोढसँग अदालती विवाह गर्नुभएको थियो । विवाह भएको एक सातापछि देखि नै परिवारसँगको सम्बन्धमा खटपट आएपछि उहाँको पारिवारिक जीवन सुखद हुन सकेको थिएन । यसैबीच गत भदौ २० गते श्रीमान उमेशले विवाह बदरको मुद्धा दिएका थिए । त्यसपछि कविताले पनि अंश, घरेलु हिंसा र ज्यान मार्ने उद्योग विरुद्धको मुद्धा दर्ता गर्नुभएको थियो । कविताको हाल वीरगन्जस्थित नारायणी अस्पतालको सर्जिकल वार्डमा उपचार चलिरहेको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको उहाँले बताउनुभयो । एसिड आक्रमणबाट शरीरको पछाडिको भागमा १८ प्रतिशत जलन देखिएको छ । छातीतर्फको भागमा पनि थोरै जलेको छ । नारायणी अस्पतालमा उपचार राम्रोसँग हुन नसकेको गुनासो उहाँको छ । आफ्नो उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् भन्ने माग उहाँको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?