बिशाल तिमल्सिना, निजगढ : लायन्स क्लब अफ निजगढ सिटीको आयोजनामा निजगढ–९ स्थित गौरीशंकर क्याम्पसमा निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह जाँच एवं रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
चैत्र १० गते आयोजित उक्त कार्यक्रममा लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ निजगढ तथा लायन्स क्लब अफ निजगढ युथको संयुक्त सहकार्य रहेको थियो। विशेषगरी युवाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ निजगढ युथका अध्यक्ष राजकुमार श्रेष्ठ, क्याम्पस प्रमुख टिकाराम भट्टराई, विभिन्न लायन्स क्लबका सदस्यहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल ७५ जनाको सहभागिता रहेको कार्यक्रममा ८ जना क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो ।
स्वास्थ्य शिविर सञ्चालनका क्रममा क्याम्पसका शिक्षक मणिराज महताराले सहकार्य गर्नुभएको थियो। कार्यक्रममा क्लबका सदस्य मनिश्वर घिमिरेले मधुमेह रोगबारे जानकारी दिँदै यो रोग वंशानुगत रूपमा लाग्न सक्ने तथा असन्तुलित खानपानका कारण पनि हुने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
















