निजगढ,निजगढ–७ मा संचालित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले निजगढमा तोरी पेल्ने मिल संचालन गर्ने भएको छ । आज शनिवार सम्पन्न संस्थाको १५ औँ साधारणसभामा अध्यक्ष अम्बिका प्रसाद चौलागाईंले संस्थाले आफ्नै जग्गामै फिल्टर गरिएको शुद्ध तोरीका तेल उत्पादन गर्न लागेको बताउनुभयो । उक्त कार्यका लागी निजगढ–७ मा रहेको संस्थाको जग्गामा भवनको शिलान्यास समेत भैसकेको उहाँले बताउनुभयो । मधेस प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्य भएको साधारणसभा अध्यक्ष चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष अञ्जु नेपालीले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिकी संयोजक पार्वती अधिकारीले लेखा प्रतिवेदन तथा व्यवस्थापक रोशन तिमल्सिनाले चालू आ.व.को अनुमानित खर्च विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ, बारा जिल्ला समन्वय समितिकी उपसंयोजक चण्डिका सापकोटा उप्रेती, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, निजगढ महिला साकोसकी अध्यक्ष शोभा राउत, सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतम, संस्थाकी संचालक सदस्य उषा लामा मोक्तान लगायतले बोल्नुभएको थियो ।
साधारणसभाको अवसरमा संस्थाले शेयरधनी सदस्यहरुलाई पानी खाने तावाँको भाँडो पनि वितरण गरेको छ । यसअघि संस्थाले शेयरधनी सदस्यहरुलाई लोडसेडिङको समयमा उज्यालो अभियान कार्यक्रम अन्तर्गत सोलार सेट,गर्मीका लागी स्टेण्ड फ्यान,शीतलहरबाट बच्न ब्ल्यांकेट,चरेसको थाल र करुवा लगायतका सामाग्री हरेक वर्ष लोकप्रिय करेसाबारी कार्यक्रम अन्तर्गत तरकारीका बीउबिजन तथा कृषक भ्रमण कार्यक्रम संचालन गर्दैआएको छ ।
यस्तै सो अवसरमा सहकारीले कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा वार्षिकरुपमा आँखा शिविर संचालन गर्नुका साथै गम्भीर रोग लागेका शेयरधनीहरुलाई १० हजार रुपैयाँ अनुदान सहयोग र ३ महिनासम्म निव्र्याजी १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने गरेको जानकारी गराइएको थियो ।
त्यस्तै शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत १० हजार अनुदानका साथै सुत्केरी शेयर सदस्य र नवजात शिशुलाई आवश्यक पर्ने उपहार पनि प्रदान गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ज्येष्ठ सदस्यहरुले ८४ पूजामा दक्षिणासहित १० हजार रुपैयाँ उपलब्ध गराउने र संस्थाले वार्षिक रुपमा नविकरण गर्ने गरि १ लाख ५० हजार रुपैयाँ बराबरको दूर्घटना बीमा पनि गराउँदै आएको प्रतिवेदनमा जनाईएको छ । सहकारी संस्थामा कुल ५२५ जना शेयर सदस्य छन् ।
















