निजगढ, बारा , स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित निजगढ राइडर्स क्लबले ‘कोरा २०८३’ नामक ७५ किलोमिटरभन्दा बढी दूरीको साइकल चुनौती आयोजना गर्ने भएको छ।
“Let’s ride together for health” भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममा देशभरका साइकलप्रेमीहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। कार्यक्रम २०८३ साल असार २८ गते ९१२ जुलाई २०२६० आयोजना हुने तय भएको छ भने सोही दिन बिहान ७ बजे निजगढ नगरपालिका भवनबाट यात्रा सुरु हुनेछ।
आयोजकका अनुसार सहभागीले एक हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ताको अन्तिम मिति पनि असार २८ गते नै तोकिएको छ। कार्यक्रममा सहभागी हुन माउन्टेन बाइक, हेल्मेट, पञ्जा तथा उपयुक्त जुत्ता अनिवार्य गरिएको छ।
सहभागीहरूलाई आयोजकले टी–सर्ट, खाजा, पानी, खाना तथा चियाको व्यवस्था गर्ने जनाएको छ। साथै स्वास्थ्य बीमा तथा चिकित्सकसहितको मेडिकल टोलीको व्यवस्था समेत गरिनेछ।
यात्राको सुरुआत निजगढ नगरपालिका भवन, वडा नं। ७ बाट भई बारा जिल्लाको निजगढ–१२ स्थित शक्तिश्वर मन्दिर गुपासम्म पुगेर समापन हुने जानकारी दिइएको छ।
निजगढ राइडर्स क्लबले विभिन्न संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई कार्यक्रमको साझेदार तथा प्रायोजक बन्न आग्रह गर्दै स्वस्थ समाज निर्माणका लागि सामूहिक पहलमा सहभागी हुन अपिल गरेको छ। क्लबले “राम्रो निजगढ, हाम्रो निजगढ” तथा “साइकल चलाऔं, स्वस्थ जीवन बचाऔं” भन्ने सन्देशलाई अभियानको मूल उद्देश्यका रूपमा अघि सारेको छ।











