
निजगढ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारद्वारा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै निजगढ नगरपालिकामा रास्वपा नगर कार्य समितिले विरोधस्वरूप हस्ताक्षर अभियान सुरु गरेको छ।
निजगढ–८ स्थित बुद्धचोकमा शनिबार आयोजित अभियानमा १ हजार ३ सय २२ जनाले हस्ताक्षर गरेर समर्थन जनाएका छन्। रास्वपा बारा जिल्ला सचिव रामहरी खरेलका अनुसार यो अभियान बारा जिल्लाभरि नै सञ्चालन भइरहेको छ, जसअन्तर्गत हालसम्म ३० हजारभन्दा बढीको हस्ताक्षर संकलन भइसकेको छ।
यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकामा पनि हस्ताक्षर अभियान शुरु गरिएको छ। प्रत्येक वडाबाट हस्ताक्षर संकलन भइरहेकामा हालसम्म २० हजारभन्दा बढी सर्वसाधारणले समर्थन जनाइसकेको रास्वपा नगर सभापति सुरश केसीले जानकारी दिए।
“राजनीतिक प्रतिशोध स्वरूप रवि लामिछानेमाथि अन्यायपूर्वक मुद्दा लगाएर दुःख दिइएको छ,” केसीले भने, “त्यसको विरोधस्वरूप हामीले यो अभियान सुरु गरेका हौं।”
उनका अनुसार यो अभियानमा स्थानीय अन्य राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणले पनि उत्साहजनक सहभागिता जनाएका छन्।
केसीले थपे, “जनताले ठूला भनिएका दलहरूबाट वाक्क दिक्क भएर रास्वपालाई वैकल्पिक आशाको रूपमा हेरेका छन्। बिकाउ राजनीति टिकाउ हुँदैन भन्ने सन्देश जनताले बुझिसकेका छन्।”
रास्वपाले मुलुकभरि नै हस्ताक्षर संकलन अभियान तीव्र बनाउँदै लगेका छन्। पार्टीका अनुसार संकलित हस्ताक्षरहरू सरकार र सम्बन्धित निकायमा बुझाएर सभापति लामिछानेको रिहाइ माग गरिनेछ।