६ वटा गोबन सर्प समात्न सफल भए, निजगढ ५ का पुष्कर दहाल

                     
  नेपाल लेख   २०८१ चैत्र १५, शुक्रबार २२:०६

निजगढ,निजगढ ५ बागदेव स्थित स्कुल टोलको एक घरमा समातिएका ६ वटा गोबन सर्प आज पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पु¥याएर छाडिएको छ । स्थानीय युवक पुस्कल दहालले बिहीवार राति र शुक्रवार दिउसो गरी समातेका ६ वटा गोबन सर्प पूर्वपश्चिम राजमार्गको १३ किलो नजिक निकुञ्जमा पर्ने पसाहा खोलाको भङ्गालोमा लगेर छोडिएको हो । दहालले बिहीवार राति समातेको ५ वटा र शुक्रवार दिउसो समातेको एउटा सर्प प्रहरीको भ्यानबाट निकुञ्जको जंगलमा पु¥याएर छोडिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो । दहालले छिमेकी रामजी चौलागाईको गायत्री राइस मिलको पिढीमा राखिएको सिमेन्ट ईटाको थुप्रोबाट ६ वटा गोबन सर्प समाएर प्लास्टिकको बोरामा राख्नुभएको थियो । प्रहरीले बिहान ५ वटा र दिउसो समातिएको अर्को एउटा सर्प पनि भ्यानमा राखेर आरक्षको जंगलमा पु¥याएको हो । दहालले सर्प समाएको  खबर फैलिएपछि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्ष सुर्यबहादुर थापामगर, सुरक्षाकर्मीलगायत सयौं सर्वसाधारण बिहान चौलागाईको राइस मिलमा पुगेका थिए । घटनास्थलमा पुग्नुभएका नगर प्रमुख पुरीले नगरपालिकाले दुर्लभ जिवजन्तुलाई मार्नुभन्दा उद्धार गरेर सुरक्षित बासस्थानमा पठाउने कार्य राम्रो भएको बताउनुभयो । उहाँले सर्प समात्ने थप सिप प्रदान गर्न नगरपालिका कार्यालयले दहाललार्ई तालिम र आवश्यक उपकरणको प्रबन्ध गर्ने पनि जानकारी दिनुभयो । ४१ वर्षिय दहालले यसअघि पनि गाउँघरमा फेला परेका सर्प समातेर उद्धार गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?