अत्यधिक चिसो बढेसँगै मध्य तराईको जनजीवन कष्टकर बन्दै

                     
  नेपाल लेख   २०८१ पुष १७, बुधबार २१:५०

बारा,अत्यधिक चिसो बढेसँगै मध्य तराईको बारालगायतका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बारा सदरमुकाम कलैया आसपासका ठाउँमा बिहानको तापक्रम न्यून भएकाले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । बिहानको तापक्रम एकदम कम रहने गरेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै हावा चल्ने गरेकाले आज बुधवार बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको सो कार्यालयका मौसम अवलोकनकर्ता प्रतिष्ठा अधिकारीले बताउनुभयो । कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्ने सर्वसाधारणलाई समस्या भएको छ । विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । तराई मधेशमा न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसहरु बढी प्रभावित हुने गरेका छन् । यो समयामा कोल्ड डायरिया, दम र खोकीको बिरामी बढी देखिने प्रादेशिक अस्पताल कलैयाका मेडिकल रेकर्डर निरज साहले बताउनुभयो । शीतलहर, जाडो लगायतबाट हुने अवस्था एवम् विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे छलफल भइसकेको बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।कार्यालयले प्रभावित क्षेत्र, गाउँ, टोलको गरीब तथा विपन्न परिवारहरुको पहिचान गर्ने, राहत तथा उद्दारको लागि आवश्यक पर्ने, दाउरा, न्यानो कपडा कम्बल लगायतका आवश्यक सामाग्रीको भण्डारण गर्ने बारेमा १६ वटै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । यसैबीच तराई भेगमा कमजोर ‘भिजिबिलिटी’ हुँदा बुधवार सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।खराब मौसमका कारण सिमरा विमानस्थलमा आज एउटा पनि उडान हुन नसकेको सिमरा विमानस्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहाले बताउनुभयो । भिजिबिलिट कम हुँदा सिमरा विमानस्थलबाट काठमाडौंका लागि उड्ने सबै उडान प्रभावित भएको हो । सिमराबाट बुद्ध एयरको दैनिक ६ र यति एयरलाइन्सको एउटा उडान हुँदै आएको छ । तर कमजोर भिजिबिलिटीका कारण आजका सबै उडान स्थगित भएको हो । तराईमा चिसो बढेसंगै भिजिबिलिटी कम भएका कारण उडानहरु प्रभावित हुने गरेको छ। सिमरा विमानस्थलबाट दिनहुँ बिहान ८ः५० देखि उडान सुरु हुने गरेको भए पनि बुधवार कुनै उडान अहिलेसम्म हुन सकेको छैन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?