जनजागृती आविको जन्मजयन्ति एवं अभिभावक दिवस सम्पन्न

                     
  नेपाल लेख   २०८१ पुष ५, शुक्रबार १४:४८

निजगढ,निजगढ–५ खोल्माटोलस्थित जन जागृती आधारभूत विद्यालयको ३६औं जन्मजयन्ति एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद अच्यूत मैनालीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले शिक्षा रोजगारमूलक हुनुपर्ने र प्रविधिसँग जोड्नु पर्ने बताउनुभयो । कार्यक्रममा मधेस प्रदेशका सांसद त्रिलोकी चौधरीले विद्यालयको लागि प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले विद्यालयको भौतिक विकाससँगै विद्यार्थीको मनोविज्ञानका समस्या समाधान गरेर अघि बढ्ने योजना रहेको सुनाउनुभयो । अभिभावक दिवसको अवसरमा विद्यालयकी शिक्षिका गोलकुमारी दनुवारले ५० हजार राशिको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले दिवंगत आमा–बुवाको स्मृतीमा रामभक्त छात्रावृत्ति कोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अभिभावक दिवसको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतिका साथै खेलकुद प्रतियोगिताका विजयी खेलाडी र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?