![](https://nepallekh.com/wp-content/uploads/2024/12/IMG-20241130-WA0023-1024x527-1.jpg)
बारा,गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ । बरियारपुरस्थित गढीमाई मन्दिरमा हिजो पूजाअर्चनापछि बोल्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उहाँले बताए । गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्ला स्थित सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले बुधवार नै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरा लगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा मेलामा आउने सर्वधारणलाई सहजरूपमा दर्शन गर्ने वतावरण मिलाउन आयोजक समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले मधेस प्रदेशका सुरक्षा निकायका प्रमुखसहित बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूसँग समग्र मधेश प्रदेशको सुरक्षा अवस्थालगायतबारे जानकारी लिनुभएको थियो । यसैबीच मधेस प्रदेश सरकारले आगामी शुक्रवार र आइतवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । शुक्रवार सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा र आइतवार गढीमाई मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो । मधेस प्रदेश सरकारले सूचना जारी गर्दै प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेलाको अवसरमा आइतवारदेखि गढीमाई मन्दिरमा विशेष पूजा हुने भएकाले मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जानकारी दिनुभएको छ ।