दुर्घटनामा परेका तीर्थ यात्रुलाई भेट्न बारागढीका अध्यक्ष जयसवाल मोतिहारीमा

                     
  नेपाल लेख   २०८१ भाद्र ९, आईतवार २१:०३

कलैया,बोलबम तीर्थको क्रममा दुर्घटनामा परेर घाइते भएका बाराको बारागढी गाउँपालिकका तीर्थयात्रुको उपचार अवस्था बुझ्न गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल भारत पुग्नुभएको छ ।

तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा आइतवार बिहान दुर्घटना हुँदा ३५ जनाभन्दा बढी तीर्थ यात्रु घाइते भएका थिए ।

दुर्घटनाको खबर पाउनासाथ गाउँपालिका अध्यक्ष जयसवाल घाइतेको अवस्था बुझ्न मोतिहारी अस्पतालमा पुग्नुभएको हो । उहाँले समस्तीपुरबाट रिफर भएर मोतिहारीस्थित डा. राकेश कुमारसँग उपचाररत ३ जना गम्भीर घाइतेलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ । मोतिहारीमा घाइते राजेश्वर साह, सुभाष साह, फेकल मुखियाको उपचार भइरहेको छ ।

अध्यक्ष जयसवालले अस्पतालमा घाइते तथा कुरुवाको खानपिनको व्यवस्थापनमा पनि सहयोग गर्नुभएको छ ।

यसैबीच दुर्घटनामा सामान्य घाइते भएका ३५ जना बारागगढीस्थित घर फर्किने क्रममा समस्तीपुरबाट बस चढेका छन । उनीहरु आइतवार राती ११ बजेसम्म नेपाल प्रवेश गरिसक्ने बताइएको छ ।

बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ना ७ ख ६४४६ नम्बरको देव दर्शन ट्राभल्सको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएका हुन ।

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी– १ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?