
निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय दिलबहादुर थापाको वर्ष ५० की श्रीमती धनमाया थापाको शनिवार बिहान शंकास्पद अवस्थामा मृत्यु भएको हो । धनमायालाई उनकै श्रीमान् दिलबहादुरले सुत्ने कोठामा रगतसहित बान्ता गरेको अवस्थामा फेला पारेपछि उपचारको लागि निजगढ ९ स्थित सामुदायिक अस्पताल प्रसुति गृहमा ल्याइएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए । यसैबीच अन्तिम संस्कारको लागि अस्पतालबाट घर फर्काइपछि धनमायाको शव प्रहरीले शनिवार दिउसो पोष्टमार्टको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ । प्रारम्भिक अनुसन्धानमा कर्तव्य ज्यान सम्बन्धि कुनै लक्षण नदेखिए पनि केही स्थानीय उनको हत्या भएको हुनसक्ने बताएपछि शव पोष्टमार्टमका लागी कलैया अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाले बताउनुभयो । स्थानीयका अनुसार एक साताअघि श्रीमान र श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको र सो घटनापछि धनमाया अलग्गै कोठामा बस्दै आएकी थिइन । सोही घटनापछि धनमायाले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि बताइएको छ । निरीक्षक कुशवाहाका अनुसार प्रहरीले घटनाको थप अनुसनधान गरिरहेको र हत्या वा मृत्यु भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताउनुभयो ।